काठमाडौँ — जाडोयाम सुरु हुनासाथ मौसमी रुघाखोकी (सिजनल इन्फ्लुएन्जा) को संक्रमण बढेको छ । कोभिड संक्रमण उत्कर्षमा रहेको समय आम व्यक्ति र चिकित्सकले खासै चासो नलिने मौसमी रुघाखोकी संक्रमितहरूलाई पुनः हैरान बनाउन थालेको छ । पछिल्लो तीन वर्षयता मौसमी रुघाखोकी संक्रमण खासै चर्चामा थिएन ।
बिस्तारै चिसो बढ्दै गर्दा उपत्यकामा मौसमी रुघाखोकीका बिरामी बढेका छन् । सामान्य ठानेको रुघाखोकीले गाह्रो पार्न थालेपछि राजधानीका अस्पतालहरूमा बिरामीको चाप बढ्दा स्वास्थ्यकर्मीहरूको पनि ध्यानाकर्षण भएको छ ।
‘मौसम परिवर्तनसँगै देखिन थाल्ने रुघाखोकी, ज्वरोलाई सामान्य मानिए पनि कोभिडकालमा व्यापक स्तरमा यो खासै देखिएको थिएन,’ टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका डा. सन्तोषानन्द झाले भने, ‘अहिले हामीकहाँ दिनहुँ १०–१५ जना सिजनल इन्फ्लुएन्जाका बिरामी आउने गरेका छन् ।’ उनका अनुसार जँचाउन आउनेमध्ये विद्यालय उमेरका बालबालिकाको संख्या बढी छ । उनीहरूमा घाँटीमा खसखस, खोकी, सिँगान बग्ने, मध्यम ज्वरो, थकाइ, जीउ दुख्नेलगायत लक्षण पाइएको छ ...