थलारा, बझाङ र डोटी — खेतमा बेमौसमी तरकारी लगाउन प्रयोग गरिने प्लास्टिक टनेल टाँगिएको छ । अन्यत्र यस्ता टनेलभित्र लटरम्म गोलभेंडा फलेका भेटिन्छन् । थलारा गाउँपालिका–८ बिस्खेत गाउँको हलिया बस्ती नजिकको यो टनेलभित्र भने महिला, बालबालिका र वृद्धवृद्धा अटेस–मटेस गरेर बसिरहेका छन् ।
जाडोले दम बढेर वृद्धवृद्धा खोकिरहेका थिए । बालबालिकाका अनुहार निन्याउरा देखिन्थे । रातभर टनेलबाट चुहिएको पानीले भिजेका ओढ्ने–ओछ्याउने कपडा खेतका आलीमा असरल्ल सुकाउन राखिएका थिए । सुत्केरी, वृद्धवृद्धा र बालबालिका रातभरको जाडो फाल्न पारिलो घाममा सुस्ताइरहेका देखिन्थे । ‘जाडो पनि उस्तै छ, रातभरि टनेलबाट शीत चुहिएर सुत्न सकिँदैन,’ ६८ वर्षीया चाखुडी दमाईंले भनिन्, ‘नौ दिनदेखि रातभरि जागा बस्ने, दिनभरि सुत्ने गरेका छौं ।’ उनले भूकम्पले घरहरू बस्नै नमिल्ने गरी चर्किएपछि यहाँ बस्नुपरेको बताइन् ।
स्थानीय गैरदलितको नाममा भएको जग्गामा घर बनाएर बसेका चाखुडीजस्तै १८ परिवार भूमिहीन दलितहरू अहिले स्थानीय गैरदलितको एउटा खेत भाडामा लिएर एउटै प्लास्टिक टनेलभित्र रात काटिरहेका छन् । उनीहरू सबै हलिया परिवारका हुन् । कात्तिक २२ को भूकम्प र त्यसपछि पटक–पटक गएका परकम्पका कारण उनीहरूका घर चर्केर छियाछिया भएका छन् । प्लास्टिकको टनेलबाट शीत चुहिने र ओढ्ने–ओछ्याउने लुगा गतिलो नभएका कारण यहाँ बस्न सकस भएको उनीहरू बताउँछन् ...