काठमाडौँ‚ दाङ‚ विराटनगर‚ पोखरा — फूल र खादा बोकेकी एक महिला भीड छिचोलेर कथित ज्योतिषी सीमान्त केसीनेर पुग्छिन् । सुरुमा उनलाई हेलमेट खोल्न लगाइन्छ ।
केसीले भिडियो खिच्न सहयोगीलाई निर्देशन दिँदै महिलातिर फर्किएर भन्छन्, ‘के भएको थियो, सबै भन्नुहोला उतापट्टि (भिडियो खिच्नेपट्टि) फर्किएर !’ उनी झोलाबाट अस्पतालका ‘ओपीडी कार्ड’ निकाल्छिन् र अलमलमा पर्छिन्, ‘केके भन्ने भन्नु न !’ केसी सिकाउँछन्, ‘तपाईंलाई कहिलेदेखि के भएको, अलि साह्रो भन्नु !’
सामाखुसीमा बस्दै आएकी उनी घर गोरखा बताउँछिन् । धेरै अस्पताल चहार्दा पनि स्तनको घाउ निको नभएपछि केसीलाई एकपटक देखाउँदैमा निको भएकाले सम्मान गर्न आएको भन्छिन् । राजधानीका विभिन्न अस्पताल र क्लिनिकका ओपीडी कार्ड देखाउँछिन् । ‘औषधि खाँदाखाँदा केही सीप लागेन । क्यान्सर पनि होइन, पिप मात्रै आइराख्ने, काटेर फ्याल्नुपर्छ भन्नुभएको थियो । यहाँ मंगलबार आएँ, फलोअपमा जाँदा डाक्टरले आधा निको भइसक्यो भने । निको भएर हजुर गुरुलाई सम्मान गर्न आएको ।’ यति भनेर केसीलाई खादा लगाइदिन्छिन् । फूलको गुच्छा दिन्छिन् । वरपर भेला भएका सबैलै ताली पिट्छन् ...