Follow us: Youtube Android App
सांगीतिक कथाले राजनीतिक ‘पिर’
३० फागुन २०७८

काठमाडौँ — गायक प्रकाश सपुतको नयाँ गीतले सशस्त्र द्वन्द्व, फेरिएको व्यवस्था र नफेरिएको अवस्थाबारे व्यापक बहस सिर्जना गराएको छ । गीतले ‘जनयुद्ध’ का लडाकुको अपमान गरेको भन्दै माओवादी नेता–कार्यकर्ताले आक्रोश पोखेका छन् । चार भ्रातृ संगठनले विज्ञप्ति नै जारी गरेर युट्युबबाटै भिडियो हटाउन र सार्वजनिक माफी माग्न सर्जकसँग माग गरेका छन् । उता सर्जक सपुतले भने वास्तविक पात्रहरूको जीवन कथा बुनेर गीत र भिडियो बनाएको प्रतिक्रिया दिएका छन् ।

गीतको पक्षविपक्षमा सामाजिक सञ्जालमा चर्को बहस चलिरहेका बेला कान्तिपुरलाई प्रतिक्रिया दिँदै गायक सपुतले हरेक दिन टेलिभिजनका पर्दा र पत्रपत्रिकाका पानामा देखिएका दृश्यलाई गीत/संगीतमा बुन्नु कसरी अस्वाभाविक भयो भनेर प्रश्न गरेका छन् । ‘पिरले युद्धकै जग/बलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको हो । समानताका लागि सँगै लडेका कमरेडहरूबीच बढ्दै गएको असमान दूरी देखाउन मात्रै खोजेको हो । यत्तिको विषय त हामीले टेलिभिजन कार्यक्रमहरूमा हेर्दै आएको होइन र ? पत्रपत्रिकाहरूमा समीक्षा लेखिँदै/पढिँदै आएको होइन र ?’ उनको प्रश्न छ ।

भिडियोमा देखिएका पात्र काल्पनिक नभएको र पूर्वछापामारलाई आफूले प्रत्यक्ष देखेको र संगत गरेको उनको भनाइ छ । ‘मैले करिब ४ वर्ष दोहोरी साँझमा काम गर्दा गाउने, बजाउने, पकाउने र पस्कनेमध्येका थुप्रै सहकर्मीहरू पूर्वलडाकु थिए । उनीहरू चरम निराशावादी कुरा गर्थे,’ सपुतले भने, ‘त्यो समयमा नै मैले यी विषय डायरीमा नोट गरेको थिएँ । संयोगले अहिले निस्क्यो ।’ ‘सच्चा पात्र’ को अवस्था, स्वभाव, सोचको अध्ययन गरेर गीत रचिएको उनको दाबी छ ...

समाचार स्रोत :