नेपालमा ठूला परियोजना सुरु हुनुअघि निकै ठूलो प्रचार हुन्छ, तामझाम पनि ठूलै हुन्छ। त्यसपछि सुरु हुनै समय लाग्छ। सुरु भइहाले सकिन वर्षाैं लाग्छ। यही प्रवृत्तिको सिकार भरतपुर महानगरपालिका–१५ शान्तिचोकमा निर्माण थालिएको रंगशाला पनि भएको छ। त्यसो त कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले क्रिकेट रंगशाला निर्माणको अभियान थाल्दै गर्दा जति चर्चा भयो, उत्तिकै विवाद पनि। धुर्मुस सुन्तली फाउन्डेसनले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउने भनेपछि वाहवाही पनि भयो। मनकारीहरूले पैसा दानको घोषणा पनि भकाभक गरे। कतिले हातहातै पनि सहयोग गरे। कतिले उधारो राखे।
अर्काेतिर कलाकारको काम कला प्रदर्शन गर्ने कि भौतिक पूर्वाधार निर्माण गर्ने हो भनेर त्यति बेलै प्रश्न उठेको थियो। आलोचना भएको थियो। टिप्पणी भएको थियो— धुर्मुस सुन्तलीले रंगशाला बनाउनै सक्दैनन्। उनीहरू नजाने गाउँको बाटोतिर लागे, गर्नै नसक्ने काम आँटे। यस्ता पूर्वाधार सरकारले पो बनाउने हो त भनेर उनीहरूको उछितो पनि काढियो– अब नाटक चल्न छोड्यो अनि रंगशाला बनाउन लागे। आलोचना र टिप्पणीभन्दा बेसी प्रशंसै भएकाले धुर्मुस सुन्तली हौसिए र रंगशाला बनाउन सुरु गरिहाले। उनीहरूको योजना साकार भएको भए आज चितवनको भरतपुरमा क्रिकेटका धेरै खेल भइरहेका हुन्थे। कमलको फूल आकारको रंगशालामा एकैपटक ३० हजार दर्शकले क्रिकेटको मज्जा लिन पाउँथे।
त्यो सपना, त्यो परिकल्पना अर्थात् त्यो परियोजना अहिले अलपत्र छ। कतिपय पिलर ठडिएका छन् तर कतिपय पिलरका रड भुइँमा पिलरका लतारिएका छन्। रडमा खिया जमेको छ। प्रस्तावित मैदान घाँसे मैदान भएको छ। झाडीले त्यहाँ राज जो गरेको छ। प्यारापिटका लागि ठडिएका पिलरका रडमा खिया लागेको छ। एकातिर खेल क्षेत्र उत्साहित थियो, अर्कातिर स्थानीय। विकासको अपेक्षा जो स्थानीयले गरेका थिए। तर अहिले फाउन्डेसनको स्वतन्त्र लेखा परीक्षणले यो परियोजनामा १८ करोड ४३ लाख रुपैयाँ ऋण देखाएको छ। न पहिला घोषणा गरेका दाता सबैले पैसा दिए न अरू कसैले। रंगशाला निर्माण पूरा हुनु त पर फाउन्डेसनसँग लागेको ऋण तिर्ने ल्याकत पनि भएन। फाउन्डेसनले रंगशाला बनाउने भनेपछि भरतपुर महानगरपालिकाले २० बिघा जमिन उपलब्ध गरायो, तर रंगशाला पूरा गर्न आवश्यक बजेट हाल्न सकेन। स्वामित्व ग्रहण गर्न उसलाई अहिले त्यही अप्ठेरो छ। ऋणको भारी कसरी बोक्ने ? कुन स्रोत जुटाएर त्यति ठूलो परियोजना पूरा गर्ने ? ...