विश्वकै सर्वाधिक लोकप्रिय खेल हो, फुटबल। यो खेलको वर्तमान जति गौरवशाली छ, यसको इतिहास त्यति नै विवादित र संघर्षपूर्ण छ। गत नोभेम्बर २० अघि कतार विश्वकप पनि सम्भवतः इतिहासकै सबैभन्दा विवादास्पद विश्वकप हुने भन्दै पश्चिमा सञ्चारमाध्यममा धमाधम समाचारहरू आइरहे। मानवअधिकारीवादी संस्थाहरूको हवाला दिँदै पछिल्लो डेढ दशकमा विश्वकपका लागि पूर्वाधार निर्माण गर्दा हजारौं कामदारको ज्यान गएको समाचार प्रकाशित भए।
त्यसैलाई आधार बनाउँदै अन्तर्राष्ट्रिय श्रमिक संगठनदेखि एमनेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र अन्य अधिकारकर्मी संगठनहरूले कतारको एकतर्फी विरोध गरिरहे। उनीहरूले विदेशी कामदारका लागि क्षतिपूर्ति दिलाउन विश्वकपको पुरस्कार राशिबाट ४४ करोड डलरको कोष स्थापना गर्न फिफा र कतारलाई आग्रहसमेत गरेका थिए। तर, कतारले ती समाचारलाई वास्ता गरेन। जसरी हुन्छ विश्व फुटबलको महाकुम्भलाई सफल बनाउनु पर्छ भनेर दिनरात लागिपर्यो।
जब नोभेम्बर २० (मंसिर ४) मा अल आयत रंगशालामा विश्वकप फुटबलको भव्य उद्घाटन भयो। त्यसपछि विरोधीहरूको स्वर पनि मत्थर भयो। सबै विश्वकपमा रम्न थाले। अहिले कतारले विश्वकप आयोजनामा गरेको अर्बाैंको लगानी र कुशल व्यवस्थापनको चर्चा सबैतिरबाट भइरहेको छ। करिब ३० लाख जनसंख्या भएको मुलुकले लाखौं मानिसलाई आतिथ्यता प्रदान गरेर कतारले सबैलाई आश्चर्यचकित पारेको छ...