देशमा यतिखेर नागरिकता विधेयकको चर्चा चुलिएको छ। सर्वाेच्च अदालतमा रिट परेका छन्। मुद्दाको सुनुवाइ जारी छ। संसद्बाट पारित विधेयकमाथि राष्ट्रपतिले किन लालमोहर लगाउनुभएन भन्ने चर्चालाई गठबन्धनको दम्भले छोड्न सकेको छैन। संसद् सकिएको छ। स्वतः विघटन भएको छ र देश निर्वाचनको सँघारमा छ। मंसिर चार गते हुने निर्वाचन आउन पचास दिन बाँकी छ।
निर्वाचनपछि देश कुन दिशातर्फ अगाडि बढ्छ ? त्यो जनमतबाटै थाहा हुन्छ। निर्वाचनको भकुन्डो जनताको घरआँगनमा पुगिसकेको छ। कहाँ गोल गर्ने मतदाताकै हातमा छ। नागरिकताको मुद्दा भने सर्वोच्चको इजलासमा पुगेको छ, जसका प्रधानन्यायाधीश आफ्नै घरमा नजरबन्दमा रहेका छन्। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको शक्ति सन्तुलन लोकतन्त्रको मूल आभा हो। यसलाई कसरी सत्ता उन्मादले धज्जी उडाएछ भन्ने छ्यांगै भएको छ।
नागरिकका बारेमा भारतीय प्रसिद्ध कवि सुरेन्द्र शर्माले सुनाएको व्यङ्ग्यमा सत्ताको बलमिच्याइको अगाडि जनता भनेका सीता हुन्! राम राजा बने भने उनलाई बनवास पठाउँछन्। रावण राजा बने भने सीतालाई हरण गर्छन्! कविले प्रयोग गरेको बिम्ब ज्यादै शक्तिशाली र यथार्थसँग धेरै हदसम्म मेल खाने लागेकाले यो प्रसङ्ग उठाइएको हो ...