एमाले–माओवादीसहितको नयाँ सत्ता गठबन्धन अस्तित्वमा आएपछि नेपाली कांग्रेस सत्ताबाट बाहिरिएको छ । यसै सन्दर्भमा नेपाली कांग्रेसका महामन्त्री गगन थापासँगको कुराकानी :
संसद्को ठूलो दल भएर पनि प्रतिपक्षमा बस्ने स्थिति कसरी निर्माण भयो ?
निर्वाचनअघि गठबन्धन गर्न हुन्न भनेर मैले पार्टीमा औपचारिक विचार राखेको थिएँ तर अस्वीकृत भयो । निर्वाचनअघि गठबन्धनलाई चलाउने, थेग्ने संस्कृति हामीमा छैन, यसले दीर्घकालीन रूपमा पार्टीलाई ठूलो क्षति पुग्छ भन्ने मेरो तर्क थियो । कुनै पनि बेला कम्युनिस्ट पार्टीहरू एक ठाउँमा आउन सक्छन् भन्ने लागेकाले आफ्नै बलमा चुनाव लड्नुपर्छ भनेको थिएँ । तर, पार्टीले गठबन्धन गर्ने निर्णय गरेपछि हामी बाँधियौं । गठबन्धन गरेरै निर्वाचनमा जाने भइसकेपछि हामीले फेरि यो गठबन्धन केका लागि भन्ने उद्देश्य प्रस्ट गरेर जाऊँ भन्यौं । गठबन्धनका बीचमा शक्ति जोडिएको सम्झौता पारदर्शी हुनुपर्छ भन्दै आयौं तर यी दुवै कुरामा चुक्यौं । दुई–तीन दिनयता मिडियाबाट हामीले जुन कुरा पढ्यौं, सुन्यौं, ती सबै अँध्यारो कोठामा भएका हुन् । पारदर्शी छलफल नभएका कारण कांग्रेस सबै कुरा गुमाउने ठाउँमा आइपुग्यो ।
पार्टीको मुख्य जिम्मेवारीमा रहेका पदाधिकारीलाई यत्रो घटनाका क्रममा दर्शकदीर्घामा राख्ने परिस्थिति किन आयो ?
संसदीय दलको नेताको निर्वाचनदेखि अहिलेसम्म गठबन्धनका दर्जनौं बैठक बसे । महामन्त्री दलको पदाधिकारी मात्रै होइन, विधानले उसको जिम्मेवारी नै स्पष्ट तोकेको छ । महामन्त्री स्वतः संसदीय दलको कार्यसमितिको पदेन सदस्य हो । दलको नेताले पार्टीमा के हुँदै छ, कता जाँदै छ भन्ने विषयमा पदाधिकारीसँग छलफल र बहस गर्नुपर्ने हो । बालुवाटारमा आइतबार बिहान निर्णायक छलफलमा बस्नुअघि सभापतिले पार्टीमा छलफल गरेर आउँछु भनेको पढेको थिएँ । उहाँले कतिखेर टेलिफोन गर्नुहोला भनेर कुरेर बसें । पोखरा जाने कार्यक्रमको समय पनि सारें तर टेलिफोन आएन । एक किसिमले अपमानितजस्तो भएर हामी (विश्वप्रकाश शर्मा) पोखरा गयौं । अहिले मेरो मनमा के लाग्छ भने, हिजो एकपटक मात्रै हामीलाई बोलाइएको थियो भने यो दुर्घटना हुँदैनथ्यो । हामीलाई राष्ट्रपति, सभामुख, मन्त्री केही बन्नु थिएन । शक्तिको अपेक्षाबाट मुक्त भएकाले आफ्नो मत र विवेकको मत राख्ने ठाउँमा हामी दुवै महामन्त्री थियौं । हामीसँग सूचना पनि थियो । पार्टी र मुलुकको हित सोचेर निर्णय लिनका लागि मत राख्ने र तत्कालको परिस्थिति विश्लेषण गर्ने क्षमता पनि थियो । तर, सभापतिले हाम्रो सामान्य आवश्यकता पनि महसुस गर्नुभएन । संसदीय दल नेताको निर्वाचनपछि सभापतिसँग एकपटक पनि संवाद भएको छैन ...