काठमाडौँ — अर्थशास्त्र र विकाससम्बन्धी विषयका जानकार स्पष्ट वक्ता स्वर्णिम वाग्लेले ३० वर्षदेखि परोक्ष एवं १० वर्षयता प्रत्यक्ष रूपमा संलग्न रहेको पार्टी नेपाली कांग्रेस परित्याग गरे । आसन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँ–१ बाट उम्मेदवार बन्ने उनको पछिल्लो घोषणाले नेपाली राजनीतिमा तरंग पैदा गरेको छ । नेपाली कांग्रेससँग तीनपुस्ते लामो सम्बन्ध रहेको बताउने र सोही दलको सिफारिसमा राष्ट्रिय योजना आयोगको उपाध्यक्षसमेत भइसकेका वाग्ले किन यस्तो निर्णयमा पुगे ? उनका आगामी राजनीतिक तथा व्यक्तिगत योजना के छन् ?
कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरुजु राणाप्रति उनले लगाएको आरोपको अन्तर्य के हो ? लगायत विषयमा केन्द्रित रहेर ई–कान्तिपुरका लागि कृष्ण आचार्य, कुलचन्द्र न्यौपाने र सजना बरालले गरेको कुराकानीको सम्पादित अंश :
तपाईं पछिल्लो समय सयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमअन्तर्गतको एउटा कार्यशालाका लागि देश दौडाहामा हुनुहुन्थ्यो, बिहीबार नेपाली कांग्रेस पार्टी परित्याग गरेको घोषणा गर्नुभयो, कांग्रेससँग मेरो तीनपुस्ते विरासत गाँसिएको छ भन्ने मान्छे एक्कासि तपाईं यस्तो निर्णयमा कसरी पुग्नुभएको हो ? ...