राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले ‘स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्नका लागि सभापति रवि लामिछानेको कोर टिमलाई बुझाउन’ भनी एक व्यवसायीसित २ करोड रुपैयाँ मागेको भनिएको अडियो बाहिरिएको छ, जसले सम्बन्धित सांसद, व्यापारी लगायत संवादमा मुछिएको पार्टीपंक्तिलाई मात्रै छानबिनको घेरामा तानेको छैन, उक्त नवस्थापित दलको आर्थिक जीवनमाथि पनि प्रश्न उठाएको छ ।
पुराना राजनीतिक दलका असंगत पक्षहरूमाथि सवाल गर्दै गत प्रतिनिधिसभा निर्वाचनबाट एकाएक उदाएको दल यति छिटै आफैं विवादको भुमरीमा मुछिनु दुर्भाग्यपूर्ण छ । रास्वपाका समर्थक–शुभेच्छुकहरूका निम्ति मात्र होइन, मुलुकमा स्वस्थ लोकतान्त्रिक पद्धतिको कामना गर्ने जोकोहीलाई यस प्रकरणले विस्मित तुल्याएको छ ।
‘घूस’ मागेको अडियो आइतबार सार्वजनिक भएसँगै रास्वपाले ७२ घण्टे छानबिन प्रक्रिया अघि बढाएको छ; सांसद श्रेष्ठलाई स्पष्टीकरण सोध्दै दलको साधारण सदस्य र सांसदका रूपमा काम गर्न रोक लगाएको छ । रास्वपाले देखाएको यो जरुरी तदारुकता सकारात्मक छ, तर यतिले मात्र यसमा संलग्नहरूलाई उन्मुक्ति मिल्नु हुँदैन । यस काण्डमा केलाउनुपर्ने अनेक पाटा छन् । सांसद श्रेष्ठको सचिवालयले अडियो सम्पादन गरिएको बताएकाले फरेन्सिक परीक्षणपछि यसको सत्यतथ्य पत्ता लाग्ने नै छ । त्यसैले, अबको छानबिन अडियोको सत्यापन गर्न र प्रकरणका अरू रहस्य पहिल्याउन केन्द्रित हुनुपर्छ ...