२०४६ अगाडि समाज सभ्य थियो। उत्पादन भब्य थियो। शिक्षा मर्यादित थियो। अर्थतन्त्र मजबुत थियो। भारा र पर्म चलेकै थियो। जांतो र घट्ट घुमेकै थिए। ढिकी र ओखल चलेकै थिए। गाह्रो र अफ्ट्यारो बाडेकै थिए। आफन्त भेट्दा हास्थे। छिमेकी भेट्दा हाल खबर सोध्थे।
गाउँमा कोही बिरामी पर्दा, हात-हातै, हतार-हतार सदरमुकाम लान्थे। खोल्सीको पानी बाडेकै थिए। मुलको/धाराको स्याहार गरेकै थिए। टपरी मै सही मिलेर भोज खाएकै थिए। धर्म संस्कृती संस्कार मन्छिन्द्रनाथका रथ झै निरन्तर चलिरहेका थिए।
नियम आफै बन्थ्यो। न कसैको थ्योरी न कसैको सिद्दान्त। मल खन्दा, बिहान खन्नेले, दिउसो भारी बोक्थ्यो। दाइ हाल्दा, एक खेप धान र अर्को खेप पराल बोक्थे। हिजो डल्ला फोड्नेले आज छेउकुना खन्थ्यो। आज आली लगाउने भोली ब्याडमा बस्थ्यो। खुट्टा खाली हुन्थे। परिश्रमको भारी ठूलो हुन्थ्यो।
जिउ सुकेकै भएनी, सहयोगी छाती बिशाल हुन्थ्यो। साँझमा थाक्थे, जत्ति थाक्थे उति हाँस्थे। जति हास्थे उति धेरै बाँच्थे। त्यसैले त होला ९० वर्षमा पनी मकैका ठेट्ना गडम-गडम चपाउँथे ...