भैरहवा — लुम्बिनी प्रदेशको पर्यटन प्रवर्द्धन र समग्र आर्थिक विकासका लागि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । निर्माण सुरु गर्नुपूर्व नै सरकारी निकायबीच समन्वय नभएकाले उडान हुन नसकेको पनि उनीहरूले टिप्पणी गरेका छन् ।
देशको दोस्रो अन्तर्राष्ट्रिय हवाई अड्डाका रूपमा सञ्चालनमा आएको यो विमानस्थलबाट पुसयता अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । भैरहवामा पहिलो व्यावसायिक उडान गरेको जजिरा एयरलाइन्स र मलेसियाका लागि चार्टर्ड उडान सुरु गरेको नेपाली वायु सेवा कम्पनी हिमालय एयरलाइन्सले जाडोयाममा भिजिबिलिटी कम भएको र यात्रुको चाप पनि नरहेको भन्दै अन्तर्राष्ट्रिय उडान रोकेका छन् ।
कान्तिपुर मिडिया ग्रुपद्वारा शनिबार आयोजित ‘लुम्बिनीको सामर्थ्य’ विषयक अर्थ–सामाजिक बहसका मुख्य वक्ता उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न कसैले रोक्न नसक्ने बताए । ‘कसैले यो विमानस्थल सेतो हात्ती हो, चल्न सक्दैन भन्दै आएका छन्,’ उनले भने, ‘म उहाँहरूलाई भन्न चाहन्छु, विमानस्थल पूर्ण क्षमताका साथ चल्नेछ र त्यसमा कसैको अवरोध हुनेछैन । क्षमताको भरपूर र उच्चतम उपयोग कसरी गर्ने भन्ने विषयमा निकट भविष्यमा छलफल हुँदै छ ।’ विमानस्थलमा सबैभन्दा चुनौतीको काम जग्गा प्राप्ति रहेको र त्यो पूरा भइसकेकाले अब तीव्र रूपमा क्षमता विस्तार गरिने उनले बताए ...