काठमाडौँ — मनाङबाहेक ७६ जिल्लामा त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पस सञ्चालनमा छन् । देशभर फरक–फरक विषय र प्रकृतिका १ हजार १ सय ४० वटा क्याम्पसमा करिब ४ लाख विद्यार्थी अध्ययन गर्छन् ।
यति धेरै विद्यार्थीलाई डोर्याइरहेका क्याम्पसको नियमन, अनुगमन र सहजीकरण गर्ने सम्पूर्ण निकाय भने राजधानीको कीर्तिपुरमा केन्द्रित छन् ।
६२ आंगिक क्याम्पस सञ्चालनका लागि बनाइएको केन्द्रीय संरचनामा ५ सय २९ सामुदायिक र ५ सय ४९ निजी क्याम्पस थपिएका छन् । विद्यार्थी संख्या घट्दो छ तर पनि विभिन्न दबाबमा सम्बन्धन थप्दै क्याम्पसको संख्या बढाउने काम रोकिएको छैन ।
भर्ना, पठनपाठन, परीक्षा, नतिजा प्रकाशनका लागि विश्वविद्यालयको एकीकृत क्यालेन्डर छैन । कहिले भर्ना हुने, कहिले पढ्ने, कहिले परीक्षा हुने र नतिजा पाउने निश्चित हुँदैन । विद्यार्थीले परीक्षा दिएको उत्तरपुस्तिका क्याम्पसबाटै गायब हुन्छ । परीक्षा नियन्त्रण कार्यालयले १५ महिनासम्म नतिजा दिन सक्दैन । स्नातक तहको नतिजा नआउँदै स्नातकोत्तर तहको भर्ना गराइन्छ ...