काठमाडौँ — निर्वाचन आयोगले केही समयअघि निर्वाचनबारे जनचेतनामूलक एउटा म्युजिक भिडियो सार्वजनिक गरेको थियो । उक्त भिडियो सार्वजनिक हुनेबित्तिकै गायन, नृत्य र सन्देश तीनै पक्षलाई लिएर सामाजिक सञ्जालमा हँस्यौली भयो । भोलिपल्टै आयोगले उक्त म्युजिक भिडियो हटाएको जानकारी त दियो । तर, उक्त गीत आयोगकै आयुक्तद्वारा गाइएको, स्टोर–किपरले रचना गरेको र आफ्ना चिनजानका मान्छेलाई म्युजिक भिडियो बनाउन दिइएको खुलासा भयो ।
आयोगको मतदाता शिक्षा र सामाजिक सञ्जालमा निर्वाचन प्रसार अभियान कतिसम्म सतही र अप्रभावकारी छ भन्ने विषयमा त्यो एउटा प्रतिनिधि घटना थियो । मतदाता शिक्षाजस्तो महत्त्वपूर्ण विषयमा आयोगको दक्षता–अभाव पटक–पटक उजागर हुँदै आएको छ । स्थानीय तहको निर्वाचनमा पनि आयोगले निर्माण गरेका निर्वाचन प्रचार सामग्रीहरू सामाजिक सञ्जालमा त्यति प्रभावकारी देखिएका थिएनन् । अधिकांश पोस्टहरूका भ्युज, रियाक्सन र सेयर संख्या अति कम थिए । तिनले मतदातामा निर्वाचनलाई लिएर कुनै उत्साह जगाउन नसकेको विज्ञहरूले औंल्याएका थिए ।
‘स्थानीय चुनावका बेला त्यत्रो बहस र टीकाटिप्पणी भइसकेपछि अहिले फेरि यस्तै विवाद हुनु दुर्भाग्य हो,’ वरिष्ठ पत्रकार राजेन्द्र दाहाल भन्छन्, ‘आफ्नो दक्षताले नभ्याउने कुरामा दक्षता भएका पेसानिष्ठ व्यक्ति र संस्थाहरू पहिल्याएर आयोगले जिम्मेवारी दिन सक्नुपथ्र्यो । तर, किन चुक्यो वा किन दक्ष मानिस वा विज्ञहरू प्रदान गर्न सकिएन भन्ने कुरा आयोगका पदाधिकारीले नै जान्लान् ।’ उनका अनुसार नेपालमा कलाकारिता, ग्राफिक डिजाइनिङ, मल्टिमिडिया, भाषालगायत क्षेत्रमा गुणस्तरीय काम गर्ने दक्ष जनशक्तिको अभाव छैन । तर, तिनले मौका पाइरहेका छैनन् ...