काठमाडौँ । अबदेखि नेपालका सबै सरकारी वेबसाइट एउटा ढाँचा र मापदण्डमा निर्माण हुने भएका छन् । यसअघि ह्याकरको निसानामा पर्दै आएका सरकारी वेबसाइटको निर्माणमा एकरूपता ल्याउने विषय विभिन्न समयमा चर्चा चले पनि हालसम्म त्यसो हुन सकेको थिएन ।
नेपाल सरकारका विभिन्न निकायले निर्माण गर्ने वेबपेजहरू एउटा ढाँचा (स्ट्यान्डर्ड)मा निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रविधि विभागमा आन्तरिक परीक्षण भइरहेको जनाएको छ । “सूचना प्रविधि विभागले सबै सरकारी निकायका वेबसाइट एउटै डिजाइनको बनाउन आन्तरिक रूपमा परीक्षण÷पुनः परीक्षण गरिरहेको छ । सबै सरकारी निकाय एउटै डिजाइन बनाउने भन्ने विषय यसअघि पनि उठेको थियो । अहिले हामी अन्तिम चरणमा पुगेका छौँ,” मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले भन्नुभयो ।
प्रधानमन्त्री कार्यालयका अनुसार पछिल्लो विकसित प्रविधि प्रयोग गर्दै उच्च सुरक्षायुक्त बनाउन र सम्बन्धित निकायहरूले आफूअनुकूल प्रयोगमा ल्याउन सकिने गरी नयाँ टेम्प्लेट निर्माण गर्न प्रधानमन्त्री कार्यालयले अग्रसरता लिएपछि सो कार्य अन्तिम चरणमा पुगेको हो । “हाल सरकारी निकायहरूले कार्यालयपिच्छे निजी क्षेत्रको परामर्श सेवामार्फत वेबसाइट डिजाइन गर्ने गरेका छन् । यसरी कुनै निश्चित प्राविधिक तथा अन्य मापदण्डको पालना नगरी बाह्य स्रोतको परामर्श सेवा लिएर वेबसाइट बनाउँदा त्यसको गुणस्तरीयता तथा सुरक्षामा समेत समस्या देखिने क्रम बढेपछि प्रधानमन्त्री कार्यालयले चासो लिएको थियो,” प्रधानमन्त्री कार्यालयले भनेको छ ...