काठमाडौँ — अर्थमन्त्री प्रकाशशरण महतले विद्युतीय सवारीसाधनबारे सरकार कुनै पनि अलमलमा नरहेको बताएका छन् । आयात प्रतिस्थापन गरी व्यापार घाटा कम गर्ने, वातावरण प्रदूषण घटाउने, नेपालमै उत्पादित विद्युत् उपयोग हुने र मुलुकको आर्थिक गतिविधि बढाउने भएकाले विद्युतीय सवारीको प्रोत्साहनमा सरकार स्पष्ट रहेको उनको भनाइ छ ।
कान्तिपुर मिडिया ग्रुपले सोमबार काठमाडौंमा आयोजना गरेको ‘कान्तिपुर ईभी डायलग–२०२३’ मा उनले भने, ‘यसको उपादेयताबारे सरकारलाई राम्रोसँग थाहा छ, यसका लागि हामी समय अनुकूल नीति बनाउँछौं ।’ करका दरका विषयमा भने अहिले नै चर्चा गर्न नमिल्ने उनले बताए ।
‘जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट ल्याउने गृहकार्यमा छौं । करका दरका विषयमा अहिले मैले चर्चा गर्न मिल्दैन, बजेट भाषणमा मात्रै थाहा पाउनुहुनेछ,’ उनले भने, ‘तर विद्युतीय करका विषयमा सरकार अस्थिर भयो भन्ने हैन । कर लगाउने कुरा राजस्व संकलन गर्ने हिसाबले मात्रै हेर्दैनौं । त्यसका विविध आयामलाई दृष्टिगत गरी निर्णय हुन्छ, कर तय हुन्छ । राजस्व संकलन गर्ने एउटा लक्ष्य हो । तर कागती निचोरेझैं गर्दैनौं ।’
वातावरणविद्ले प्रदूषणका कोणबाट व्याख्या गर्ने, व्यापारीले नाफाघाटाको कोणबाट हेर्ने र अरूले अन्य कोणबाट व्याख्या गरे पनि विद्युतीय सवारीका विषयमा आफूले अर्थमन्त्रीका हिसाबले हेरिरहेको उनले बताए । ‘म अर्थमन्त्रीका नाताले व्यापार घाटा कसरी कम गर्ने भन्ने कोणबाट हेरिरहेको छु,’ उनले भने, ‘व्यापार घाटा कम गर्नु सरकारको महत्त्वपूर्ण लक्ष्य हो । यसका दुई उपाय छन्, आयात कम गरेर र निर्यात बढाएर । यसको महत्त्वपूर्ण उपाय नै जलविद्युत् उत्पादन र उपयोग हो ...