काठमाडौं : एमाले सांसद एकनाथ ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका भारतीय सुरक्षाकर्मीलाई हटाउन माग गरेका छन्। आइतबार संसद्मा बोल्दै उनले विमानस्थलमा रहेका भारतीय सुरक्षाकर्मीलाई हटाउन पहल गर्नुपर्ने माग गरेका हुन्।
नेपाली भूमिमा भारतले सुरक्षाकर्मी राखेर हवाई यात्रुको खानतलासी गर्ने गरेकोमा उनले आपत्ति जनाए। जसकारण सार्वभौम राष्ट्रमाथि प्रश्न उठ्ने गरिरहेको उनको भनाइ थियो।
‘केही साता अगाडि छिमेकी मित्रराष्ट्र भारतको अयोध्यामा आयोजित एक कार्यक्रममा भाग लिन जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सुरक्षाकर्मीको सबै सुरक्षा पास गरेर एयर इन्डियामा चढ्नभन्दा अगाडि भारतीय सुरक्षाकर्मीहरूबाट शरीरको खानतलासी गर्ने काम भयो। सर्वसाधारणबाट मात्रै भएन नेपाली कूटनीतिज्ञको लागि पनि भयो,’ उनले भने, ‘सार्वभौमसम्पन्न राष्ट्रको लागि यो कति स्वाभाविक विषय हो ? प्रधानमन्त्री भारत भ्रमण गर्न जाँदै हुनुहुन्छ, नेपालको अन्तर्राष्ट्रिय एयरपोर्टबाट भारतीय सुरक्षाकर्मीलाई हटाउनका लागि म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ...