काठमाडौँ — गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर सेयरमा लगानी गर्ने लगानीकर्ता घटेका छन् । तरलता अभावले बैंकको कर्जा प्रवाह क्षमता घटेको, ब्याजदर बढेको, राष्ट्र बैंकको नीतिगत हस्तक्षेपलगायत कारणले सेयर कर्जा घटेसँगै ऋण लिएर सेयरमा लगानी गर्ने लगानीकर्ता घटेको जानकारहरू बताउँछन् ।
‘सेयर बजार निरन्तर जसो घटेको छ । यसअघि ३२ सयसम्म पुगेको बजार घट्न थालेपछि केही ठूला लगानीकर्ताले सेयर बेचेर लगानी अन्य क्षेत्रमा स्थानान्तरण गरेका थिए । त्यो लगानी बजारमा फर्किन सकेको छैन,’ एक ब्रोकरले भने, ‘तरलता अभाव भन्दै बैंकहरूले पनि कर्जा प्रवाह रोके, राष्ट्र बैंकले पनि नीतिगत कडाइ गर्न थाल्यो । त्यसको असर सेयर कर्जामा देखिएको हो ।’ अहिले निरन्तर सेयर बजार घट्नुको एउटा कारण सेयर कर्जा पनि भएको उनको दाबी छ ।
राष्ट्र बैंकका अनुसार गत असोजसम्म बैंक तथा वित्तीय संस्थाले सेयर कर्जामा ७६ अर्ब ३३ करोड रुपैयाँ प्रवाह गरेका छन् । गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा ५.२ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको तीन महिनामा सेयर कर्जा २.२ प्रतिशतले घटेको थियो । गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत एउटा बैंक तथा वित्तीय संस्थाबाट बढीमा ४ करोड र सबै वित्तीय संस्थाबाट गरेर बढीमा १२ करोड रुपैयाँभन्दा धेरै कर्जा प्रवाह गर्न नपाइने व्यवस्था राष्ट्र बैंकले गरेको थियो । उक्त व्यवस्थापछि सेयर कर्जा घट्न थालेको हो । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले एउटा बैंक तथा वित्तीय संस्थाबाट बढीमा ४ करोड रुपैयाँसम्म मात्र कर्जा लिन पाउने व्यवस्था खारेज गरेको छ । उक्त व्यवस्था खारेज गरेर मार्जिन कर्जाको एकल ग्राहक सीमा एउटा वा सबै वित्तीय संस्थाहरूबाट लिन सक्ने गरी अधिकतम सीमा १२ करोड कायम गरेको छ ...