Follow us: Youtube Android App
एक वर्षपछि कर्जाको ब्याज घट्दै
२६ फागुन २०७९

काठमाडौँ — चैतदेखि कर्जाको ब्याजदर घट्ने भएको छ । बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजसँगै ५ प्रतिशतभन्दा बढी रहेको प्रिमियम दर (आधार दरमा थप गर्ने दर) घटाउने निर्णय गरेपछि चैतदेखि कर्जाको ब्याजदर पनि घट्ने भएको हो ।


गत माघमा बैंकहरूले निक्षेपको ब्याजदर घटाएका थिए । निक्षेपको ब्याज घटेपछि बैंकहरूको आधार दर (बेस रेट) घट्छ । आधार दरमा आएको परिवर्तनअनुसार त्रैमासिक रूपमा बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर पनि घटाउनुपर्छ ।

यही व्यवस्थाअनुसार वैशाखदेखि (तेस्रो त्रैमासमा आधार दरमा आएको परिवर्तनका अनुसार) कर्जाको ब्याजदर घट्ने अनुमान गरिएको थियो । तर, सोमबार बसेको वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको बैठकले चैत १ देखि ५ प्रतिशतभन्दा प्रिमियम लिन नपाउने र यसअघि बढी लिएको भए त्यो पनि घटाउने निर्णय गर्‍यो । उक्त निर्णयकै कारण चैतदेखि नै धेरै प्रिमियम जोडेर कर्जा लिएका ऋणीको ब्याजदर पनि घट्ने भएको हो । आधार दरमा कमी आएपछि नयाँ ऋणीले भने चैतदेखि नै पहिलेभन्दा कम ब्याजदरमा ऋण पाउनेछन् ।

संघको निर्णयअनुसार चैतदेखि वाणिज्य बैंकहरूले आधार दरमा ५ प्रतिशतभन्दा बढी प्रिमियम जोड्न पाउँदैनन् । यसअघि ६ प्रतिशतभन्दा बढी प्रिमियम जोड्न नपाउने संघको निर्णय थियो । यसकारण हाल ५ प्रतिशतभन्दा बढी प्रिमियम जोडेर कर्जा लिएका ऋणीको ब्याजदर चैतदेखि कम्तीमा १ प्रतिशत बिन्दुले घट्ने नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीको दाबी छ । बैंकले कति ऋणीलाई ५ प्रतिशतभन्दा बढी प्रिमियम जोडेका छन्, यकिन तथ्यांक छैन । तर बैंकहरूले साना र पहुँच नभएका ऋणीलाई धेरै र ठूला तथा पहुँचवाला ऋणीलाई कम प्रिमियम जोडेर कर्जाको ब्याजदर निर्धारण गर्दै आएका छन् । यसकारण प्रिमियम घटाउने निर्णयले साना ऋणी बढी लाभान्वित हुने बैंकर्स संघका अध्यक्ष केसीको दाबी छ । ‘साना ऋणीको ब्याजदर घटाउनकै लागि ५ प्रतिशतभन्दा बढी रहेको प्रिमियम घटाउने निर्णय भएको हो,’ उनले भने, ‘यो निर्णयबाट सबैभन्दा धेरै लाभ साना ऋणीलाई हुन्छ ।’ यो निर्णय चैत १ देखि नै कार्यान्वयन हुने भएकाले ऋणीले तत्काल ब्याजदर घटेको अनुभूति गर्न सक्ने केसीको भनाइ छ ...

समाचार स्रोत :