काठमाडौंको हात्तीसारस्थित जय नेपाल हल बन्द भएको दुई वर्षभन्दा बढी भइसक्यो। तर बिहीबार यहाँको माहोल भने कुनै सुपरहिट सिनेमाको आगमनभन्दा कम थिएन। काठमाडौं महानगरपालिकाको टोलीले हल ‘कम्पाउन्ड’ भित्रै डोजर चलाउँदा वर्षौंदेखि लुकेको टुकुचा पहिलो पटक ‘प्रदर्शित’ भएको छ।
‘पचासौं वर्षदेखि पुरिएको टुकुचा खोलाको उत्खनन गर्न सफल भएका छौं,’ काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले भने, ‘अब टुकुचा लुकेर होइन खुलेर बग्नेछ।’ झन्डै एक घन्टा लगाएर १५ फिटको हाराहारीमा खनेपछि दक्षिणबाट उत्तरतर्फ बग्दै गरेको टुकुचा खोला फेला परेको पाण्डेले जानकारी दिए।
प्रावधिक टोलीले नक्साअनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हलपरिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको महानगरले जनाएको छ। नारायणहिटी दरबार क्षेत्रको दक्षिण भागबाट निस्किएको टुकुचा खोला यस क्षेत्रमा गायब थियो।
हलभित्र डोजर चलेसँगै वरपरका छिमेकी र सर्वसाधारणको बाक्लो भिडले हल ‘हाउसफुल’ बनेको थियो। चलिरहेको डोजर कतिपयले ‘नायक’जस्तै ठानेर रमाउँदै हेरिरहेका थिए भने पीडितका लागि यही डोजर कुनै ‘खलनायक’भन्दा कम्ता थिएन। ‘अहिलेसम्म मेरो घरजग्गामा खोला पर्छ भन्ने पक्का भएको छैन,’ जय नेपाल हलभन्दा केही परका योगेश मिश्रले भने, ‘कतै भेटियो भने अनाहकमा हामी पीडित बन्नेछौं ।’ वर्षौंदेखि भोगचलन गरेको ठाउँमा एक्कासि उत्खनन गर्दा आफूहरू समस्यामा पर्ने उनले सुनाए ...