काठमाडौं/पोखरा : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जग्गा अधिग्रहणको ४७ वर्षपछि सञ्चालनमा त आयो तर ऋणै ऋणको बोझमा छ। यो विमानस्थल बनाउँदा लागेको चीनको झन्डै २२ अर्ब ऋण २०७९ चैत १ देखि २०९२ असोज १ गतेभित्र भुक्तानी गरिसक्नुपर्ने हुन्छ।
जुन रकम चिनियाँ मुद्राको सटही दर बढ्दा करिब २६ अर्ब पुगेको छ। विमानस्थल सञ्चालनमा आएको तीन महिना नपुग्दै पहिलो किस्ता बुझाउनुपर्यो। तर, कमाइ नै नभएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले नै उक्त रकम बेहोर्यो। फेरि अब असोज १ गते पुनः किस्ता तिर्नुपर्ने हुन्छ।
भुक्तानी तालिकामा ऋण प्रतिबद्धता जनाइएको रकम १ अर्ब ३७ करोड ८७ लाख ४० हजार चिनियाँ रकम युआन (करिब २६ अर्ब रुपैयाँ) रहेको उल्लेख छ। चीनको एक्जिम बैंकसँग ऋण सम्झौता हुँदा प्रति १ युआन करिब १६ रुपैयाँ थियो। अहिले यसको सटकी दर करिब १९ रुपैयाँ पुगेको छ। सात वर्षको ग्रेस अवधिसहित २० वर्षमा ऋण तिर्नुपर्नेछ। नेपाल सरकारले चीनको एक्जिम बैंकसँग २ प्रतिशत ब्याजमा लिएको ऋण प्राधिकरणलाई दिँदा ५ प्रतिशत तोकेको छ...