Follow us: Youtube Android App
मञ्जुरीबिना इन्टरनेटमा आधारित विज्ञापन पठाउन नपाइने
९ कात्तिक २०७८

काठमाडौँ — सम्बद्ध व्यक्तिको मञ्जुरीबिना कसैले पनि इन्टरनेटमा आधारित विज्ञापन पठाउन नपाइने व्यवस्था गर्न लागिएको छ । विज्ञापन बोर्डले ‘विज्ञापन आचारसंहिता–२०७८’ लागू गरी यस्तो व्यवस्था गर्न लागेको हो । ‘कसैले पनि सम्बद्ध व्यक्तिको मञ्जुरीबिना सामाजिक सञ्जाल, मोबाइल एप तथा अन्य कुनै पनि प्रकारको एपमार्फत विज्ञापन पठाउन पाइने छैन,’ बोर्डले सोमबार सार्वजनिक गरेको आचारसंहिताको मस्यौदामा भनिएको छ ।

मस्यौदामा विज्ञापनसम्बन्धी व्यवसाय गर्ने व्यक्ति, संस्था, दूरसञ्चार सेवा प्रदायक, सञ्चारमाध्यम, विज्ञापन एजेन्सी, विज्ञापन उत्पादक र विज्ञापनदाताले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी व्यवस्था छन् । बोर्डले आयोजना गरेको एक कार्यक्रममा सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त आचारसंहिताको मस्यौदा सार्वजनिक गरे । ‘आचारसंहिताको मस्यौदामाथि एक महिनासम्म सरोकारवालाको राय प्रतिक्रिया लिई अन्तिम रूप दिने बोर्डको तयारी छ,’ बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ । मस्यौदामा अब राजनीतिक दलहरूलाई असर पर्ने विषयमा विज्ञापन गर्न, गराउन नपाइने व्यवस्था पनि गरिएको छ ।

नेपालको परराष्ट्र नीतिविपरीत हुने, कानुनबमोजिम गोप्य राख्नुपर्ने सूचनालाई विज्ञापनका रूपमा प्रयोग गर्न पाइने छैन । निर्वाचित सरकारलाई हिंसात्मक शक्ति प्रयोग गरी हटाउने उद्देश्यका विज्ञापन गर्न नपाइने पनि मस्यौदामा उल्लेख छ । पाठ्यपस्तुकमा शैक्षिक विषयबाहेक विज्ञापन गर्नसमेत पाइने छैन । विभिन्न सामग्रीको कारोबार तथा व्यावसायिक रूपमा गरिने विज्ञापनसम्बन्धी व्यवस्थामा समेत आचारसंहिताले कडाइ गरेको छ । ‘ट्रेडमार्क, पेमेन्ट, डिजाइजनलगायत औद्योगिक सम्पत्तिका हकवालाको अनुमति वा स्वीकृतिबिना विज्ञापन गर्न पाइँदैन,’ मस्यौदामा भनिएको छ । विज्ञापनदाताले प्रवर्द्धन गर्न खोजेको वस्तु वा सेवा उत्पादनको आधिकारिकता र उत्पादकको परिचयबिना विज्ञापन गर्न पाइने छैन

समाचार स्रोत :