उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले आइतवारबाट सुरु गर्ने चीन भ्रमणले सात वर्षअघि आफूले हस्ताक्षर गरेको बेल्ट एन्ड रोड इनिशटिभ (बीआरआई)प्रतिको नेपालको प्रतिबद्धताको वास्तविक परीक्षण गर्ने परराष्ट्र मामिलाका विज्ञहरूले बताएका छन्।
विभिन्न देशका महत्त्वाकाङ्क्षी विकास पूर्वाधारहरूमा लगानी गर्नेसहितको उद्देश्य बोकेको उक्त अवधारणा लगानीका ढाँचा र कार्यान्वयन योजना जस्ता विषयहरू टुङ्गोमा नपुग्दा नेपालमा कार्यान्वयनमा जान सकिरहेको छैन।
यसपालि परराष्ट्र मन्त्री श्रेष्ठले एक साताभन्दा लामो समय चीनको भ्रमण गर्दा पनि उक्त विषयमा सहमति नजुटे ‘आन्तरिक र बाह्य दबाब’का कारणले गर्दा नेपाल उत्साहित भएर उक्त चिनियाँ अवधारणामा गम्भीरतापूर्वक सहभागी नहुने ठान्नुपर्ने परराष्ट्र मामिलाका एक जना विज्ञले बताएका छन्।
चीन नेपाल सम्बन्धलाई नजिकबाट पछ्याउने एक जना चिनियाँ विज्ञले नेपालले अहिले आफूलाई ज्यादै जटिल भूराजनीतिक वातावरणले निम्त्याएको चलखेलको बीचमा पाइरहेको भन्दै बेइजिङले बीआरआईलाई सहायता कार्यक्रमका रूपमा परिणत गर्ने सम्भावना नरहेको बताएका छन् ...