प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल वायुसेवा निगमले हालसम्म गरिरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ प्रबन्ध सेवा (ग्राउन्ड ह्यान्डलिङ) नखोस्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई निर्देशन दिएका छन्।
आइतबार सिंहदरबारमा मन्त्री किराँतीलाई बोलाएर प्रधानमन्त्री दाहालले उक्त निर्देशन दिएका हुन्।
गत मंसिर १५ गते नागरिक उड्डयन प्राधिकरणले निगमले गर्दै आएको ग्राउन्ड ह्यान्डलिङ अब उप्रान्त प्रतिस्पर्धाबाट मात्र दिने निर्णय गरेको थियो। प्राधिकरणले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली २०७८ को नियम ५ (२)अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भूमिस्थ प्रबन्ध सेवा प्रतिस्पर्धाको माध्यमबाट छनोट भएको संस्थामार्फत गराउने’ निर्णय गरेको थियो ...