Follow us: Youtube Android App
अक्षमताको अर्को कीर्तिमान : बजेट होलिडे
३० भदौ २०७८

काठमाडौँ । प्रमुख राजनीतिक दलहरूबीच संसद्‌मा जारी द्वन्द्वका कारण नेपालमै पहिलोपटक राजस्व संकलन र खर्च प्रणालीमा नौलो अभ्यास हुने भएको छ । सरकारले उद्योगी, व्यवसायी तथा आम नागरिकबाट कर संकलन गर्नेछ तर त्यो रकम बुधबार मध्यरातपछि विकास निर्माण वा आम नागरिकको हितमा खर्च गर्न पाउने छैन । प्रतिनिधिसभाले बजेटसम्बन्धी प्रतिस्थापन विधेयक टुंगो लगाउन नसकेपछि बुधबारबाट सरकारी खर्च गर्ने बाटो बन्द हुने भएको हो ।

संवैधानिक व्यवस्थाअनुसार तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले गत जेठ १५ गते अध्यादेशमार्फत ल्याएको बजेट बुधबारसम्ममा संसद्बाट अनुमोदन गरिसक्नुपर्छ । तर प्रतिनिधिसभा बैठक असोज ४ सम्मका लागि स्थगन गरिएको छ । अध्यादेशको बजेटलाई प्रतिस्थापन गर्न ल्याइएको विधेयकमाथिको छलफल प्रक्रिया प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण अघि बढ्न नसकेको हो । ‘यस्तो अवस्थामा बुधबार रातिबाट हामी चेक काट्न सक्दैनौं,’ अर्थ सचिव मधु मरासिनीले कान्तिपुरसित भने, ‘सार्वजनिक खर्च गर्ने अर्को बाटो छैन । यो आम जनतासम्म असर पर्ने कुरा हो । जतिसक्दो चाँडो बजेट पास गरिदिनूस् भन्ने अर्थ मन्त्रालयको आग्रह छ ।’

समाचार स्रोत :